रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको छोरा सत्येन्द्र यादवले बताए ।
यादव लामो समय देखि मधुमेह रोगबाट ग्रस्त रहेका थिए । उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए ।
स्वर्गीय यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य समेत रहेका थिए । उनको २ छोरा, २ छोरी र श्रीमती रहेका छन् । उनको आजै दिउँसो १ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
उनको निधनले नेपाली कांग्रेस बाराले एउटा अभिभावक गुमाएको तथा सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस बाराको सचिव राजेश रौनियारले बताए ।


