फाईल तस्बिर
गोरखा । गण्डकी गाउँपालिकाले गाउँसभामा पटक–पटक अनुपस्थित हुने जनप्रतिनिधिहरु पालिकाले लिखित स्पष्टीकरण साेधेकाे छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनपछि हालसम्म ९ पटक गाउँसभा बसेकोमा उपाध्यक्ष ललिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सुबास पन्त र वडा नम्बर ४ का अध्यक्ष राजुबाबु भण्डारीसँग लिखित जवाफ माग गरिएको हाे ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार गाउँसभा बैठकमा लगातार अनुपस्थिति हुनु गम्भीर विषय भएको भन्दै कार्यपालिकाको १२९औँ दोस्रो सिलसिलावार बैठकले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
गाउँपालिकाद्वारा जनप्रतिनिधिलाई थमाएको पत्रमा अनुपस्थितिका कारण जनताको आवाज नीति निर्माणसम्म नपुग्ने र पालिकाको गरिमा प्रभावित हुने उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १३ अनुसार, लगातार ३ पटक बैठकमा अनुपस्थित भएका सदस्यको पदसमेत रिक्त हुने व्यवस्था रहेको पत्रमा स्मरण गराइएको छ ।
लिखित स्पष्टीकरण असार १७ गतेभित्र भौतिक रूपमा उपस्थित भएर बुझाउन भनिएको छ । नआए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी अध्यक्ष तिमिल्सिनाले हस्ताक्षरित पत्रमार्फत दिइएको छ ।


