एजेन्सी । रिमेक गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ । मिडिया रिपोर्टका अनुसार, जुन २७ को राति उनलाई हृदयाघात भएको थियो, जसका कारण उनको ज्यान गएको हो ।
मुम्बई प्रहरीले यस मुद्दामा आफ्नो अनुसन्धान सुरु गरेको छ । फोरेन्सिक टोली शेफाली जरीवालाको घरमा पुगेको छ र प्रमाण सङ्कलन गरिरहेको छ । साथै, घरमा काम गर्ने कामदार र भान्सेलाई अम्बोली प्रहरी स्टेसनमा सोधपुछ गरिएको छ । परिवारका सदस्यहरूको पनि बयान लिइँदैछ ।
स्रोतका अनुसार, शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागी र अन्य ३ जनाले शुक्रबार राति अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।
अस्पतालका कर्मचारीले शेफाली जरीवालालाई मृत अवस्थामा अस्पताल ल्याइएको पुष्टि गरेका छन् । उनको शव पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ ।
शेफाली जरीवालाले सन् २००४ मा मित ब्रदर्सका सङ्गीतकार हरमीत सिंहसँग विवाह गरेकी थिइन् । सन् २००९ मा दुवैको सम्बन्ध विच्छेद भयो । त्यसपछि उनले सन् २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन् ।
शेफाली जरीवालाले १९ वर्षको उमेरमा ‘काँटा लगा’ म्युजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई रातारात स्टार बनायो । यस गीतमा उनको बोल्ड शैली र नृत्य शैलीले मानिसहरूको ध्यान खिचेको थियो ।
यसपछि उनले केही थप संगीत एल्बम र चलचित्रहरूमा काम गरिन् । सन् २००४ मा उनी सलमान खान र अक्षय कुमारको चलचित्र ‘मुझसे शादी करोगी’ मा पनि देखिइन् । यसबाहेक उनी कन्नड चलचित्र ‘हुडुगारू’ मा पनि देखिइन् । शेफालीले धेरै डान्स रियालिटी सोहरूमा भाग लिइन् । साथै, उनी आफ्ना पति पराग त्यागीसँग ‘नच बलिये’ मा पनि देखिइन् ।
शेफाली जरीवालाले सन् २०१९ मा बिग बोस १३ मा वाइल्ड कार्ड एन्ट्री लिएकी थिइन् जहाँ उनी आफ्नो पूर्व प्रेमी सिद्धार्थ शुक्लासँग राम्रो सम्बन्ध बनाएको देखिएकी थिइन् । सिद्धार्थ शुक्लाको पनि सन् २०२१ मा हृदयाघातका कारण मृत्यु भएको थियो ।


