रूकुम पश्चिम । बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का १ जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्री रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले रेशमलाई बिहीबार राति पक्राउ गरेको प्रहरी नायव उपरिक्षक रमेश बिष्टले जानकारी दिए । क्षेत्री वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज भएकाे पनि उनले बताए ।
रेशमलाई प्रहरीले सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट पक्राउ गरेको हाे । उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । जो अहिले छोरीकी आमा समेत भइसकेकी छन् ।
किशोरीलाई नेता क्षेत्रीले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । त्यही घटनाबाट छोरी जन्मिएको भनेर पनि जाहेरीमा उल्लेख गरेको प्रहरी स्राेतले जनाएकाे छ ।
प्रहरीमा २ महिनाअघि नै जाहेरी परे पनि क्षेत्री फरार थिए । बिहीबार भने गोप्य सूचनाको आधारमा प्रहरीले रेशमलाई होटलबाट पक्राउ गरेको प्रनाउ विष्टले बताए ।


