एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो उत्तराधिकारी छनोट गरेका छन् ।
इसराइलले लगातार इरानमाथि कठोर हमला गरिरहेको अवस्था र संयुक्त राज्य अमेरिकाको लगातारको चेतावनीबीच खामेनीले आफ्नो सम्भावित हत्याको आकलन गर्दै उत्तराधिकारी छानिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् ।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार खामेनीले ३ जना धर्मगुरूहरूबाट १ जनालाई उत्तराधिकारी छान्न निर्देशन दिएका छन् । खामेनी आफै पनि अहिले गुप्त बंकरमा लुकेर बसेकाे अनुमान गरिएकाे छ ।
आफू बसेको ठाउँ पत्ता नलगाउन् भनेर विद्युतीय सञ्चारमाध्यमहरूको पहुँचबाट पनि उनी टाढा रहेको ३ इरानी अधिकारीहरूलाई उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ ।
इरानमा विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट)ले सर्वोच्च नेता छान्ने प्रचलन छ । सभामा ८८ जना धार्मिक विद्वानहरू हुन्छन् । सोही सभालाई खामेनीले ३ जनाको नाम दिएर उनीहरूमध्ये १ लाई आफ्नो उत्तराधिकारी बनाउन निर्देशन दिएको इरानी अधिकारीहरुले बताएका छन् ।
खामेनीले नाम दिएको ३ जना को नाम भने गोप्य राखिएको छ । इसराइल वा अमेरिकाबाट आफू जुनसुकै बेला मारिन सक्छु भन्ने ८६ वर्षीय खामेनीले अनुमान लगाएकाे न्युयोर्क टाइम्सले लेखेको छ ।
गत साता इरानमाथि हमला सुरू गरेपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वोच्च नेता खामेनीको हत्या गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनुमति मागेका समाचारहरू पनि सार्वजनिक भएका थिए ।
त्यसकारण अहिले खामेनीले आफ्नो ३ दशकयताको शासनकै सबैभन्दा अनिश्चित क्षण बिताइरहेका छन् ।


