डोटी । डोटीमा आज दिउसाे भएकाे जिप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । साेही दुर्घटनामा परी अन्य ५ जना घाइते भएकाे डाेटी प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षकी हरुदेवी विक, जिप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षकी काली कटुवालको ज्यान गएको छ ।
प्रहरीका अनुसार २ जनाको घटनास्थलमा र १ जनाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल डोटीमा ज्यान गएको हो । प्रहरीका अनुसार मृतक काली भने गर्भवती रहेको खुलासा भएकाे छ ।
आज दिउँसो १:४० बजे आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडक खण्डमा सुप्रप ०१-००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको थियाे ।
साेही दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षकी स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमाना बस्ने २२ वर्षका कैलाश विष्ट, १४ वर्षका दीपक विष्ट र १० वर्षकी नाबालिका साबिता कटुवाल घाइते भएका छन् ।
घाइते सबैकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।


