कावासाेती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।
काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।
विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए ।
बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । सबैकाे सकुशल उद्धार गरीएकाे छ ।
उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले जानकारी दिए ।
रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।


