एजेन्सी । सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको एउटा विमानको आपत्कालीन अवतरण गराइएको छ । विमानको एउटा इन्जिनमा प्राविधिक गडबडी भए पछि मङ्गलवार कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई ओरालिएको हो ।
फ्लाइट एआई १८० निर्धारित समय ००ः ४५ बजे विमानस्थलमा आइपुगेको थियो । तर बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण उडान ढिलाइ भयो । लगभग ०५ः २० बजे सबै यात्रुहरूलाई विमानबाट ओर्लन भनियो । उडान सुरक्षाका लागि यो निर्णय गरिएको विमानका क्याप्टेनले यात्रुहरूलाई बताए ।
एयर इन्डियाको फ्लाइट एआई १८० निर्धारित समयअनुसार सान फ्रान्सिस्को विमानस्थलबाट उडेको थियो । तर, १२ः४५ बजे कोलकाता विमानस्थलमा आइपुग्दा यसको बायाँ इन्जिनमा प्राविधिक गडबडी देखियो । ४ घण्टाभन्दा बढी समय पछि बिहान ५ः२० बजे मात्रै कोलकताको विमानस्थलमा सबै यात्रुहरूलाई ओरालियो ।
पाँच दिनअघि अहमदाबादको सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको एयर इन्डियाको उडान एआई–१७१ ले उडेको केही सेकेन्डमै बीजे मेडिकल कलेजको होस्टेल भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भयो ।
उक्त विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु, १० क्याबिन क्रू सदस्य र दुई पाइलट थिए । बेलायती नागरिक विश्वास कुमार रमेश बाहेक सबै मारिए ।


