पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
साेमबार बेलुका आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकमा दुर्घटना भएको पाल्पा प्रहरीले जनाएकाे हाे ।
दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगर–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम/थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।
उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र अर्का १ जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा चालक बुटवल उपमहानगर–११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण प्रहरी अनुसन्धान गरी रहेकाे छ ।


