पाँचथर । मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका ६ जनामध्ये ३ जना मजदुरको ज्यान गएको छ । पाँचथरको फिदीम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज हिजो बेलुका खसेको थियाे ।
ज्यान गुमाउनेहरुमा बाराको सिमरा उपमहानगरका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरक्षक एवं सूचना अधिकारी रुपेश तामाङ जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाइएको थियो । डाक्टरले उनीहरूलाई मृत घोषणा गरेकाे प्रनि तामाङले बताए ।
फिदिमतर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो । अन्य २ जना मजदूरको पनि गंभिर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते बाराको सिमरा उपमहानगर–१२ का २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरीको विराटनगरमा उपचार भइहेको छ ।
तस्बिर : सामाजिक सञ्जाल


