बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ ।
शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै ज्यान गएको थियो ।
गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान ज्यान गए संगै ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।
दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर घाइते घाइते भएका छन् ।
घाइतेहरुलाई मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको उनले जानकारी दिए । जिप सडकदेखि करिब ६० मिटर तल खसेको बस्नेत बताए । गाडीमा १६ जना सवार थिए ।




















