काठमाडाैं । सरदरभन्दा झन्डै २ हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।
त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४०.२ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ । तराई/मधेसका अरू ठाउँमा पनि तापक्रम केही बढेको छ । देशका पहाडी भेगहरुमा पनि गर्मी बढेको छ ।
नेपाल आइपुगेको मनसुन शिथिल बन्दा केही दिनदेखि कोशी प्रदेशमा समेत पानी परेको छैन । पश्चिम र मध्य क्षेत्रमा मनसुन भित्रिन सकेको छैन । हिजो र अस्ति देशका धेरै ठाउँमा टन्टलापुर घाम लाग्यो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन देशभर विस्तार हुन अझै १० दिन लाग्न सक्ने अनुमान छ । आज कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ । भोलिदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने महाशाखाले अनुमान गरेकाे छ ।


