काठमाडाैं । पानी पर्न कम भएसँगै देशैभर गर्मी बढेको छ । आज र भोलि गर्मी अझै बढ्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सबैभन्दा धेरै धनगढीको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । महाशाखाका अनुसार केही दिनदेखि मनसुन कोशी प्रदेशमै अड्किएकाले देशभर मनसुनी वर्षा हुन सकेको छैन ।
गएको १४ गते कोशी प्रदेशबाट मनसुन भित्रिएको हो । मनसुन भित्रिएसँगै ठूलो पानी परे पनि त्यसपछि पानी नपर्दा तापक्रम बढीरहेको छ । यो हप्ताभित्र मनसुन देशभर फैलिन सक्ने महाशाखाले जनाएकाे छ ।
अहिले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका धेरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिरएकाे छ ।


