झापा । मेचीनगर नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । मेचीनगरको वडा नम्बर २, ३, ७, ८, ९ र १४ मा पशुचौपायामा ‘लम्पी स्किन’ र वडा–६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको हाे ।
सङ्क्रमण देखिए संगै किसानहरु चिन्तित भएका छन् । पशु चिकित्सकहरुले सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कता अपनाउन भनेकाे छ ।
त्यस क्षेत्रमा रहेका गाई र बाच्छीको शरिरमा घाउ खटिरा देखिन थालेकाे र पशुमा ज्वरो आउने लक्षण देखिएकाे छ । किसानलाई गोठको सरसफाइ तथा जैविक सुरक्षाका उपाय अपनाउन अनुरोध गरिएको छ ।
त्यस्तैगरी, मेचीनगर–६ को एउटा बङ्गुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० वटा बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको हाे ।
फार्म सञ्चालक बबिता गहतराजले ८० वटा बङ्गुर मर्दा आफूलाई ठुलाे नोक्सानी भएको बताइन ।



