तिलक पाैडेल
मुगु जिल्ला बास गरेकी, पूर्व पश्चिम लाम्चो परेकी ।
वरिपरि जङ्गल टोपी हिमको, बढाउनलाई शोभा तिमरो ।।
लगाई बसेको पहरा पनि, दि’या कसैले चोर्छ कि भनी ।
सौन्दर्य पनि तिम्रो जस्तो, छैन कतै’नि जस्को तस्को ।।१।।
रुपा वेगनास फेवा ताल, कास्की र डोल्पा फोक्सुण्डो ताल ।
छन् तर तिम्रो सौन्दर्य छाल्मा, यात्रु आगमन होला नेपाल्मा ।।
खत्याड खोला पश्चिम तिर, गरेर तिम्रै मुहान शिर ।
बगीरहेको गर्दै कल कल, विज्ञप्त स्वच्छ सुन्दर जल ।।२।।
त्यै खोला तिर्तिर हिंडे पनि, कौतुहल् तिमी कस्ती छौ भनी ?
जाग्छ सबैको अन्तर मनमा, गर्छन् दृष्यावलोकन बनमा ।।
बीचमा तिमी माला जङ्गल्, लाएको देख्दा मनोहर मङ्गल ।
हुन्छ सबैमा र अरु ताल्को, कल्पित मूल्य तिम्रा छाल्को ।।३।।
आखिर जोडी टोटल मूल्य, हेर्दा अरु सब् कृत्रिम तुल्य ।
हुनेछन् आखिर तिम्रो आकृति, एक् हो सजाउ्ने सुन्दर प्रकृति ।।
धन्य प्राकृतिक सजावटलाई, मुस्काई रहिछ्यौ काखमा बसाई ।
छैन त्यहाँ केइ् कृत्रिम पारा, बाहेक् प्रकृति के छ सहारा ।।४।।
२०३९/१/३ शुक्रबार
अपरान्ह १२:२४ बजे
राराको तीरमा ।





















