×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नववर्ष यसरी मनाएथेँ …

  •  गोरखा समाचार
  • सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    सनातनी हिसाबमा नववर्ष नयाँ सुरुवात, आशा, उत्साह र आत्मसमीक्षाको अवसर लिएर झुल्किन्छ । यसलाई संसारभर विभिन्न रीति, परम्परा, संस्कृतिका आधारमा मनाइने प्रचलन छ । हामीहरूले पनि हरेक वर्षको अन्त्यसँगै नववर्षलाई स्वागत गर्दछौँ र पुराना सम्झनाहरूलाई आत्मसात गर्दै नयाँ सङ्कल्प, लक्ष्य निर्धारण गर्ने गर्दछौँ । वास्तवमा नववर्ष भनेको स्वविश्लेषण गर्ने समय हो। हामीहरूले गत वर्षका सफलताको परिणाम प्राप्त भएका उपलब्धिहरू तथा अथक प्रयासका बावजुद हात लागेका असफलताहरूको समीक्षा गरी आगामी दिनलाई अझ राम्रो बनाउने अठोट गर्नुपर्दछ । नववर्षमा नयाँ अवसर र सम्भावनाहरूको क्षितिजमा उत्साहित भएर उडान भर्ने प्रेरणा लिनु बुद्धिमानी हुन्छ ।

    शुक्लपक्षको प्रतिपदा (परेवा) देखि कृष्णपक्षको अमावास्या (औँसी) सम्मको अवधिलाई चान्द्रमान भनिन्छ । चान्द्रमान अनुसार चैत्र शुक्लप्रतिपदाको दिनलाई नयाँ वर्ष मान्ने गरिन्छ । प्रसिद्ध ग्रन्थ “हेमाद्रि”मा उल्लेख भए अनुसार सृष्टिको संरचना चैत्र शुक्ल प्रतिपदामा भएकाले त्यस दिनलाई वर्षको पहिलो दिन मान्ने वैदिक ज्योतिषको शास्त्रीय मान्यता रहेको पाइन्छ । त्यस्तै पूर्वीय वैदिक ज्योतिषशास्त्रकै अर्को प्रसिद्ध ग्रन्थ “सिद्धान्तशिरोमणि” मा भास्कराचार्यले लङ्कामा सूर्योदय हुँदा सूर्यकै बार अर्थात् आइतबार र चैत्र शुक्लपक्षको प्रतिपदा तिथि परेको हुन्छ भनी निम्नानुसार उल्लेख गरेको पाइन्छ ।

    लङ्कानगर्यामुदयाच्च भानोस्तस्यैव वारं प्रथमं बभूव।
    मघोः सितादेर्दिनमासवर्षयुगादिकानां युगपत्प्रवृत्तिः ॥ – सिद्धान्तशिरोमणि

    जेहोस्, यो तिथि अनुसार मानिने भएकाले यति गते भन्ने हुँदैन । यसपटक चन्द्रमान अनुसारको नववर्ष २०८१ चैत्र १७ गते आइतबार (प्रतिपदाका दिन) परेको थियो ।

    त्यसैगरी सूर्य एउटा राशिमा प्रवेश गरेको समय (सग्राँती) देखि अर्को राशिमा प्रवेश गरुञ्जेल (अर्को सग्राँती) सम्मको अवधिलाई सौरमान भनिन्छ। सौरमान अनुसार सूर्य मेषराशिमा प्रवेश गर्ने प्रथम सूर्योदयलाई वर्षको पहिलो दिन मान्ने चलन छ । यो हरेक बैशाख १ गते पर्दछ । यसैलाई हामी नववर्षका रूपमा मनाइआएका छौँ । यो दिनलाई वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित नभै भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि प्रचलनमा रहेको पाइन्छ । जसरी र जहिले सुरु भएपनि अथवा जुनसुकै मुलुकमा र सम्वत् भएपनि १ वर्षमा ३६५ दिन नै हुन्छन् । तर हरेक ४ वर्षमा पर्ने अधिकवर्षमा भने ३६६ दिन हुने गर्दछन् ।

    विभिन्न देशमा अनेकौँ सम्वत् र पात्रो/पञ्चाङ्गहरू प्रचलनमा छन् । प्राचीन अभिलेखहरूका आधारमा पञ्चाङ्ग पात्रोहरूमा उल्लेख भएका विभिन्न सम्वत्हरूमध्ये अवधिका हिसाबले क्रमश: सृष्टितोगताब्दा (१,९५,५८,८५,१२६), कलेर्गताब्दा (५,१२६), विक्रम सम्वत् (२,०८२), इशवीय सन् (२,०२५-२६), श्री शालिवाहनीय शाके (१,९४७), नेपाल सम्वत् (१,१४५-४६), कालयुक्त नामक सम्वत्सर (५३) उल्लेख्य छन् । यी सबै सम्वत्को आ-आफ्नै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व छ ।

    हामीकहाँ हाल प्रचलनमा रहेको विक्रम सम्वत् राजा विक्रमादित्यको सम्मानमा नामकरण गरिएको मानिन्छ । चन्द्र शमशेर प्रधानमन्त्री हुँदा विक्रम सम्वत्लाई सरकारी कामकाजमा प्रयोग गर्न थालिएको पाइन्छ। हिजोआज कतिपय विदेशी कुटनैतिक नियोग, दातृनिकाय, अ/गैसस आदिसँग पत्रादानप्रदानादि गर्दा ग्रिगोरीअन पात्रो अनुसारको इस्वी सम्वत् (इशवीय सन्) पनि चलनचल्तीमा ल्याइने गरिएको छ ।

    साविकको प्रसङ्गलाई उप्काउँदा वि.सं. २०२९/३० तिरको बैशाखे सग्राँती मेरो देब्रेहातमा परेको ज्योतिषीबाट जानकारी भएपछि मलाई हजुरामाले पल्तिरबा (नातामा दाजू परेपनि पल्तिरबा भन्ने गर्दथेँ)का साथ लागेर सेती नदीमा नुहाउन पोखरा पठाउनु भयो । ज्योतिष शास्त्र अनुसार सग्राँती शिरमा, मुखमा, हृदयमा, दायाँ हातमा, वायाँ हातमा, दायाँ खुट्टामा, वायाँ खुट्टामा पर्ने भनिँदो रहेछ । त्यसमध्ये वायाँ हात र खुट्टामा परेमा अशुभ हुँदो रहेछ ।

    ज्योतिष विज्ञान अनुसार – “वायाँ (देब्रे) खट्टामा कष्ट उल्लेख छ । विशेष गरेर विशाखा, अनुराधा र ज्येष्ठा नक्षत्र परेका व्यक्तिहरुलाई विषु परेको मानिन्छ । विषु परेका (अशुभ मानिएका) व्यक्तिहरुले पूजापाठ लगाएर रुद्राभिषेक, दुर्गासप्तशती पाठ आदि गरी घिऊ, मह, चिनी र डुम्रीले हवन गरेर ब्राम्हण र कन्याहरुलाई द्रव्य दान (दक्षिणा) र भोजन आदि गराउनाले शान्ति मिल्नेछ । विषु परेको व्यक्तिले असली रुपमा गंगा स्नान गरेर ब्राम्हण र कन्यालाई द्रव्य दान (दक्षिणा) र भोजन गराएर, मह चाटेर वा केही मिठो वस्तु खाइयो भने पनि त्यो दोष लाग्दैन भन्ने शास्त्रीय प्रमाण छ । यसमा ब्राम्हण, कन्या, गाइ, माता-पिता लाई दान दक्षिणा, भोजन, गोग्रास आदि तथा जोगीलाइ समेत दान गरेर, दुखी गरिबलाइ भोजन आदि गराएर शान्ति कर्म गर्न सकिन्छ” भनिएको पाइन्छ ।

    त्यसैले म त्यस्तै ६/७ कक्षामा पढ्थेँ होला । चारदशक पहिलेको नववर्षको आरम्भ उल्लिखित बमोजिम पल्तिरबासँग पोखरा हिँडेर भएथ्यो । नागडाँडासम्म झण्डै ३ घण्टा पैदल हिँडेपछि मोटरबाटो देखेँ – पहिलो चोटि ! केही समयको पर्खाइपछि घर जत्रो सिसैसिसाको झ्याल ढोका भएको बस आयो । घरकै पिँढीमा चढ्ने खट्केरी (खुट्किला) जस्तैबाट उक्लेर बसमा चढेँ । पल्तिरबासँगै बस्ने चाँजो मिलाउनु भयो । अन्तत: हामी पोखरा पुगेछौँ । संयोग त्यही बेलामा कतैको उडान भरेर आएको जहाज विमानस्थलमा ‘ल्याण्ड’ गर्‍यो । पल्तिरबाले ‘लौ हेर, हवाइजहाज त्यही हो’ भन्नुभयो । दुईतिर पँखेटा फिजाएको त्यो जहाजभित्र २० जना जति मान्छेहरू आकाशमा उड्दा रहेछन् । मलाई अनौठो लाग्यो ।

    नगरबस (?) बाट हामीहरू भैरवटोलमा गएछौँ क्यारे ! मीठा जेउरेरोटी (सेल) खान पाएँ । त्यही बेला ठूलो पानी पर्‍यो । तर एकैछिनमा बिदो भयो र घाम लाग्यो । फेरि मलाई आश्चर्यबोध भयो । त्यहाँबाट हिँडेर हामी आलुमाहिलाको घरमा गयौँ । वहाँको र पल्तिरबा मित-मित हुनुहुँदो रहेछ । साँझ परेपछि काठको तले घरमा जताततै उज्यालो छरियो । त्यो त बिजुलीको कारण रहेछ । मलाई फेरि नौलो लाग्यो । घरमा ढेब्रीमा दियो बालेर उज्यालो बनाएको मात्र देखेकोलाई यो अनौठो पनि भएन ।

    बिहान उठेर शायद रामघाटसम्म हिँडेर गयौँ । सबै कपडा खोलेर पल्तिरबाको हात समाएर मैले सेती नदीमा डुबुल्की मारेँ । ‘लौ तेरा सबै पाप र अनिष्ठहरू शान्त होउन्’ पल्तिरबाले भन्दै हुनुहुन्थ्यो । घरबाटै हजुरामाले पठाइदिएको सिसामा गंगाजल र अलकति बालुवा हालिदिनु भयो, पल्तिरबाले । मान्छेको घुइँचो भनीसाध्य थिएन । गंगास्नान गरिसकेर चाइनाचोक (हाल पृथ्वीचोक हुँदै लखनथापा चोक) मा निस्केर कुनै मिठाइँ पसलमा पसेर तातो-तातो जुलेबी र पुरी खायौँ, सारै मीठो लाग्यो । अचेल ठट्टामा प्रयोग हुने ‘बस, मोटर, जहाज त टिनका पातामा काँटी ठोकेर बनाए, तर त्यो जुलेबीमा कतै प्वाल पनि देखिँदैन, भित्र गुलियो रस कसले, कसरी भर्‍यो होला ?’ को जिज्ञासा त्यतिबेलैको बाल मस्तिष्कमा उब्जेको थियो । पल्तिरबाले ‘गण्डकी नुहाएपछि मिठो चोखो खानु पर्दछ भन्छन्, अब केही नखाई घर पुग्ने हो, के खान्छस् खा’ भन्नुहुँदा जुलेबी थपेर खाएको क्षण अहिलोसम्म ताजै छ । सग्राँतीका साँझतिर घर फर्कँदा सबै खुसी हुँदै हजुरामाले मलाई अङ्कमाल गरेर म्वाइँ खानुभयो ।चरेसको अम्खरामा झोलाबाट केही जल निकालेर अरू पानी मिसाई सबैले ‘हर हर गंगे’ भन्दै आ-आफ्नो शरीरमा जल छर्कनु भयो । मैले सबैलाई एकुन्टा जुलेबी ल्याएको थिएँ, सबैलाई हजुरामाले बाँडिदिनुभयो । घरमा खिर पकाइएको रहेछ, सबैले खाएर आराम गरियो ।

    वर्तमानमा त सग्राँती फलको ख्याल गर्ने, गंगा स्नान गर्ने बारे त कसैलाई सोच्ने सम्मको फुर्सद छैन । तर, व्यक्तिगत, व्यावसयिक एवम् संस्थागत रूपमा नयाँ योजना र रणनीतिसहित नयाँ वर्षको सुरुवात गर्ने प्रचलन भने विद्यामान रीति नै बनेको छ एकातर्फ अनि प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा र आ-आफ्ना संस्थाका नाउँमा पात्रोहरू प्रकाशन गरी त्यसको लोकार्पणसँगै शुभकामना आदान-प्रदान गर्ने चलन पनि बढ्दै गएको छ – अर्कोतिर । जेहोस्, सबै नयाँ वर्षहरू सबैलाई साविकभन्दा थप स्वस्थ, सक्रिय, सिर्जनशी एवम् मनचिन्ते बनेर झुल्किरहुन् – नववर्षको हार्दिक शुभकामनासहित !!!

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    २०८१ चैत ३० गते शनिबार,
    कीर्तिपुर-२, अमृतनगर, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.