काठमाडौं । सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भोलि बेलुकासम्म आफन्तलाई बुझाउने भएको छ ।
विमान दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उक्त कुरा बताए ।
मन्त्री पौडेलले अहिले मृतकहरूको फिङ्गर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र हिजो नै ४ वटा शवको पहिचान भइसकेको बताए । उनले शवको पहिचान भए पनि म्याचिङ गर्न बाँकी रहेको बताए ।
मन्त्री पौडेलले आज बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको जानकारी दिए । पहिचान हुन नसकेको शवहरूको भने डीएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने उनको भनाइ थियो ।
हिजो बिहान पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज केही सेकेन्डमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने पाइलट मनिषरत्न शाक्य घाइते भएका छन् । उनको उपचार जारी छ ।


