काठमाडौं । ‘सी–चेक’ का लागि पोखरा उडेको सौय एयरलाइन्सको जहाज उडेको २० सेकेन्डमा नै दुर्घटनामा परेको छ । नियमित मर्मतको लागि बुधबार बिहान ११ बजेर ११ मिनेटमा सीआरजे ७–९ एनएएमई जहाजले त्रिभुवन विमानस्थलको धावनमार्ग छोड्ेको २० सेकेन्डमा नै दुर्घटनामा परेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो । धावनमार्ग ०२ (कोटेश्वरतर्फ) बाट जहाजले टेकअफ लियो । त्यसको २० देखि २२ सेकेन्डमा जहाज ढलपल–ढलपल गर्न थाल्यो र हेर्दाहेर्दै दाहिनेतर्फ जहाज मोडियो र भुइँमा बजारिन पुग्यो ।
प्राधिकरणका अनुसार जहाजसँगको एटीसीको अन्तिम संवादमा एयरक्राफ्टमा कुनै पनि समस्याबारे क्याप्टेनबाट जानकारी आएको थिएन ।
दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकोमा १८ जनाको मृत्यु भएको प्राधिकरणले पुष्टि गरिसकेको छ । यो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको उपचार केएमसी अस्पतालमा उपचार जारी रहेको छ ।





















