काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भाँसिएकाले सम्भावित क्षति हुन नदिन रातको समयमा गाडी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
प्रशासनले सूचना जारी गर्दै बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सबैखालका गाडीको आवतजावत बन्द गरेको पाल्पाको हो ।
भाँसिएको सडकको मर्मत कार्य सकेर वा अर्को सूचना जारी नहुदासम्मका लागि उक्त सडकमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको प्रशासनले जनाएको छ । उक्त सडकको आजै बिहानैदेखि मर्मतको काम सुरु गरिएको छ ।
उक्त स्थानमा २ वर्षअघि पनि सडक भाँसिएर हप्ता दिनसम्म गाडी सञ्चालनमा समस्या आएको थियो ।




















