काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको संक्रमण देखिएको छ । मंगलबार ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको सङ्क्रमण पुष्टि भएपछी उपत्यकामा संक्रमण देखिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा.युवानिधि बसौलाका अनुसार हैजा सङ्क्रमण पुष्टि भएका किशोरको उपचार चलिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर)मा बस्ने किशोरमा हैजा पुष्टि भएको हो ।
त्यस्तै ठैवकै अर्का १ जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ ।
पछिल्लो समय अस्पतालमा झाडापखाला भएर दैनिक झन्डै १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।
पानी, बासी खानेकुरा, नपकाएको खानेकुराबाट पनि हैजा सर्ने जोखिम हुन्छ । निरन्तर पातलो चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लाग्न नदिन पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, फलफूल र तरकारी राम्ररी सफा गरेर खान चिकित्सकहरुले सल्लाह दिएको छ ।




















