काठमाडौं । द्वन्द ग्रस्त बङ्गलादेशबाट स्वदेश फर्किने बिद्यार्थीहरुको संख्या १ हजारभन्दा माथि पुगेको छ । सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका हुन् ।
आइतबार साँझसम्म १ हजार २०० भन्दा धेरै नेपाली बिद्यार्थी स्वदेश आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार शनिवारसम्म ८०० र आइतबार ४२० जना गरी अहिलेसम्म १ हजार २२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
आइतबार हवाईमार्गबाट ११५ र स्थल मार्गको काँकडभिट्टा नाका हुँदै ३०५ जना स्वदेश फर्किएको पनि मन्त्रालयले जनाएको छ ।
थप १ हजार ७०० भन्दा बढी विद्यार्थी दूतावासको सम्पर्कमा रहेको र अरु केही विद्यार्थी सम्पर्कमा आइरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारी तथ्यांक अनुसार बङ्गलादेशमा ३ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकामा रहेको नेपाली दूतावासलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवम् आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवम् अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।


