मोरङ । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।
प्रदेशका विभिन्न ११७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो । यसैगरी प्रदेशका विभिन्न १ हजार ७३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र १३४ जना घाइते हुनुभएका छन् ।
प्रवक्ता दाहालका अनुसार जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएका, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका तथा ३६ जना घाइते भएका , ४९६ स्थानमा पहिरो खस्दा ९ जना पुरिएका र २० जना घाइते भएका छन् । १ वर्षमा प्रदेशभर ७ हजार ९०८ वटा चौपाया मरेका घटना अभिलेखीकरण भएका छन् ।


