कास्की । गण्डकी प्रदेशमा साविकको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई नवीकरणको म्याद कटेर कानुन अभावमा नवीकरण हुन नसकेका प्राइभेट फर्महरू नवीकरण र अद्यावधिकको बाटो खुलेको छ ।
गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐनमा संशोधनपछि १ वर्ष वा सो भन्दा बढी अवधि व्यतित भई नवीकरण हुन नसकेका फर्मको यही असार २६ गतेदेखि नवीकरण गर्न सुरु गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेशप्रसाद आचार्यले बताउनुभयो । गण्डकीमा गत वर्ष असोज ८ गतेदेखि नवीकरणको म्याद १ वर्ष कटेका फर्महरूको नवीकरण रोकिएको थियो । यसबीचमा उद्योग तथा पर्यटन कार्यालय कास्कीमा ७०० भन्दा बढी फर्मले नवीकरणका लागि निवेदन दिएका थिए ।
प्राइभेट फर्म दर्ता संशोधन नियमावली, २०८१ ले जरिवाना लिएर फर्म नवीकरण गर्न सकिने व्यवस्था गरेको उद्योग तथा पर्यटन कार्यालय कास्कीका कार्यालय प्रमुख महराज ढकालले बताउनुभयो । गण्डकी सरकारले २०७८ सालमा जारी गरेको प्राइभेट फर्म दर्ता ऐनले १ वर्षभन्दा बढी म्याद गुर्जेका फर्महरूलाई नवीरणका लागि २ वर्षको समय दिएको थियो । ऐनले दिएको २ वर्षको समय २०८० असोज ८ गते सकिएपछि कानुन अभावमा नवीकरण रोकिने अवस्था आपछि प्रदेश सरकारलाई आवश्यक कानुनी व्यवस्थाका लागि अनुरोध गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले नवीकरणका लागि ध्यान नदिँदा १ वर्ष बढी म्याद नाघेका फर्म धेरै थिए । हामीले नवीकरणका लागि आएकालाई कानुन नभएर थाँती राखेका थियौँ । अहिले प्राइभेट फर्म दर्ता ऐन संशोधन गरेर नवीकरण र नवीकरण शुल्कलाई व्यवस्थित गरेको छ । अबदेखि प्राइभेट फर्महरू नवीकरण गर्न रोकिने अवस्था भएन ।”
पछिल्लो संशोधन नियमावलीअुनसार अबदेखि फर्म नवीकरण गर्दा पुँजीअुनसार रु २० लाखसम्मको पुँजी छ भने प्रतिवर्ष रु २ हजार ५०० र रु २० लाखमाथिका फर्मलाई रु ५ हजार ५०० जरिवाना लिइने उद्योग तथा पर्यटन कार्यालयले जनाएको छ ।
“नवीकरण दस्तुरको १ वर्ष कटेपछि तेब्बर दस्तुर लिने व्यवस्था कानुनमा छ । हामीले दिएको नवीकरण अवधि कटेपछि जरिवाना लिने हो”, कार्यालय प्रमुख ढकालले भन्नुभयो । सरकारले जरिवाना लिएर फर्म नवीकरणको व्यवस्थापछि अहिले उद्योग कार्यालयमा उद्योगी व्यवसायीको भीड लागेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यले नवीकरण छुट भएका उद्योगी व्यवसायीको समस्या समाधान भएको बताउनुभयो । सरकारले गरेको व्यवस्थाका बारेमा सबै व्यवसायीलाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । उद्योग तथा पर्यटन कार्यालय कास्कीमा २१ हजार उद्योग तथा २८ हजार वाणिज्य फर्म दर्ता रहेको कार्यालयले जनाएको छ ।


