स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।
पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी ३ वर्षीया छोरी निकिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले बताए । “राति सुतेका बेला पहिरो खसेको हो”, उनले भने । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको छ ।
पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ । पहिरोमा परी एउटा भैँसी पनि मरेको छ ।


