गोरखा । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको आरोपमा गोरखा नामजुङका १ जना युवक सहित प्रहरीले २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शहिद लखन गाउँपालिका–९ नामजुङ घर भई हाल काठमाडौं सामाखुशी बस्ने ३३ वर्षीय रामेश्वर काप्री र अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ घर भई काठमाडौं डिल्लीबजार बस्ने ३१ वर्षीय दिलिप कुमार पाण्डे भएको प्रहरीले पुष्टी गरेको हो ।
पक्राउमध्ये रामेश्वरले कतार पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र दिलिपले पोल्याण्ड पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको छ ।
दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रहरी टोलीले दिलिपलाई काठमाडौं नयाँ बानेश्वर र रामेश्वरलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
दुवैजनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।




















