गोरखा । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा गोरखा धुवाकोटका १ जना युवक सहित २ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा जिल्ला पालुङटार नगरपालिका–८ धुवाकोट घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाशबाबु विक र दैलेख नारायण नगरपालिका–९ घर भई काठमाडौं तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार रहेका छन् ।
दुुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको जनाकारी दिएको हो ।
उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।


