गोरखा । गण्डकी गाउँपालिकाले पालिका भित्रका किसानलाई व्यवसायिक तरकारी उत्पादनका आधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम अनुसार किसानलाई तरकारी उत्पादनमा प्रति केजी द्द रुपैयाँ अनुदान रकम उपलब्ध गराउन सुरु गरेको हो ।
‘‘पालिका भित्रका वास्तविक किसानसम्म अनुदान पुरर्याउनकालागि यसबर्षदेखि उत्पादनका आधार अनुदान कार्यक्रमको थालनी गरिएको हो, गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले भने, ‘‘गएको माघ २३ गतेबाट कार्यक्रम लागूहुने गरी स्थानीय कृषि सहकारीहरु मार्फत सम्झौता गरेर गाउँपालिकाले कार्यक्रम अघि बढाएको छ ।’’
उक्त कार्यक्रममा गाउँपालिकाले अहिलेसम्म ३ वटा वडाका १२८ जना किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।
अध्यक्ष तिमल्सिनाका अनुसार फागुन महिनामा तरकारी उत्पादन गरेका वडा नम्बर ८ का ६० जना कृषकलाई ३ लाख ४८ हजार ९४८ रुपैया, वडा नम्बर ६ स्थित श्री भैरवी कृषि सहकारी मार्फत ३१ जना कृषकलाई ५५ हजार ९६८ रुपैया अनुदान उपलब्ध गराइएको छ ।
त्यस्तैगरी, वडा नम्बर ७ स्थित जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्थामार्फत ३७ जना किसानलाई पनि ४६ हजार ४५४ रुपैयाँ उपलब्ध गराईसकेको छ । पालिकाले अहिलेसम्म कुल ४ लाख ५१ हजार ३७० रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराइसकेको पालिकाले जनाएको छ ।
वडा नम्बर ८ मा भने एउटै किसानले १ महिनामा पालिकाबाट ३७ हजार ५१८ रुपैया अनुदान लिएका छन् । पालिकाले दिएको जानकारी अनुसार लवबहादुर भुजेलले १ महिनामा १८ हजार ७५९ किलो तरकारी उत्पादन गरेर उक्त रकम बुझेका हुन् ।
गाउँपालिकाले पालिका कृषि उत्पादन बढाउने र किसानको आयआर्जनमा बृद्धि गराउने उद्देस्य सहित वास्तविक किसानको हातमा अनुदान पुरर्याउन उत्पादनमा आधारित अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
किसानले सहकारीमार्फत उत्पादनको अभिलेख उपलब्ध गराएपछि गाउँपालिका कृषि शाखाले अनुदान उपलब्ध गराउने गरेको छ । पालिकाले मासु उत्पादन गर्ने किसानलाई पनि अनुदान उपलब्ध गराउने निर्णय हालै गरेको छ ।


