गोरखा । उत्तरी गोरखाको खोर्लावेशीमा फोहर संकलनका लागि डम्पीङ साइड निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्डको साझेदारीमा धार्चे गाउँपालिकाले डम्पीङ साइड निर्माण गरेको हो ।
मनास्लु पदमार्गमा निर्माण गरिएको उक्त डम्पीङ साइड निर्माणमा पर्यटन बोर्डबाट लागतको ४० प्रतिशत र गाउँपालिकाबाट ६० प्रतिशत खर्च गरिएको धार्चे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए ।
उनले ‘हालै सम्पन्न भएको डम्पीङ साइडको लागत अनुमानभन्दा बढी खर्च भएको’ भन्दै अधिकृत सुनारले भने ‘स्थानियले १ लाख बरावरको जनश्रमदान गरेको छ ।’
डम्पीङ साइड निर्माण हुदासम्म ७ लाख ५५ हजार ४१ रुपैयाँ ६६ पैसा खर्च भएको पनि उनले जानकारी दिए । जसमा पालिकाको तर्फबाट ४ लाख १६ हजार ४३० र पर्यटन बोर्डबाट २ लाख ८३ हजार ५७० रुपैयाँ प्राप्त भएको थियो ।
स्थानियले भने ८३ हजार ४१ रुपैयाँ ६६ पैसा बरावरको जनश्रमदान गरेको पनि अधिकृत सुनारले बताए ।
धार्चे गाउँपालिका–३ को खोर्लाबेशीमा निर्माण भएको उक्त डम्पीङ साइडमा उत्तरी गोरखामा जाने विदेशी पर्यटकहरुबाट गरिने फोहरलाई ब्यवस्थापन गरिने पालिकाले जनाएको छ ।
सोही मार्ग भएर विश्वको प्रख्यात मनास्लु हिमाल, श्रृंगी हिमाल, श्र्रंगी गुम्बा, कल्छुमन ताल (काल ताल), बिरेन्द्र तालका साथै मु गुम्बा र लार्केपास गरेर मनाङ जाने गर्दछन् ।



