गोरखा । ट्राफिक सप्ताहको अवशर पारेर गोरखा बजारको विभिन्न स्थानमा जेब्रा क्रस निर्माण गरिएको छ । पूर्वाधार विकास कार्यालयले गोरखा बजारको ६ स्थानमा जेब्रा क्रस निर्माण गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको आग्रहमा पूर्वाधार कार्यालयले गोरखा सदरमुकाको ६ स्थानमा जेब्रा क्रस बनाइदिएको ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक शिवप्रसाद पाठकले बताए । ‘सदरमुकाममा जेब्रा क्रस नहुदा समस्या भएको थियो ।’ उनले भने ‘अब भने बिद्यार्थीदेखी बृद्वबृद्वारुलाई सहज भएको छ ।’
‘पहिला पनि जेब्रा क्रस भने नभएको होइन तर ति सबै ईनामेल प्रयोग गरेर बनाएको हुदा धेरै टिकेनन् ।’ उनले भने ‘यो पटक भने अर्थो प्लाष्टिक रोड पेन्टद्वारा निर्माण भएकोले धेरै समय टिक्ने छ ।’
ट्राफिक प्रहरीले यस अघि पनि विभिन्न संघ संस्थाको सहयोगमा गोरखा सदरमुकाको पुरानो बसपार्कदेखी मझुवादेउरालीसम्म दर्जनौ स्थानमा ईनामेल पेन्ट गरेर जेब्रा क्रस निर्माण गरेको भएता पनि टिकाउ हुने गरेको थिएन ।
अन्य खण्डमा भने सडक मर्मतको काम भईरहेकोले सदरमुकामको लोकतान्त्रिक चोक, कालिमाटी बजार, जिविस चोक, शक्तिचोक, बैंक रोड र पुरानो बसपार्क गरी ६ स्थानमा अर्थो प्लाष्टिक रोड पेन्ट प्रयोग गरेर कार्यालयले जेब्रा क्रस निर्माण गरेको हो ।
कार्यालयले ९३ दशमलब ६ इस्क्वायर मिटर जेब्रा क्रसका लागि पूर्वाञ्चल निर्माण प्रालि रामेछाप संग ९५ हजार ६५२ रुपैयाँ १२ पैसामा सम्झौता गरेको पूर्वाधार कार्यालयका ईन्जिनियर कपिल काप्रीले जानकारी दिए ।
उनका अनुसार अर्थो प्लाष्टिक रोड पेन्टमा सिसाको धुलो प्रयोग गरिएको छ । जसले रातको समयमा सवारीको लाईट जेब्रा क्रसमा पर्दा उज्यालो देखिने गर्दछ ।























