गोरखा । प्रहरीले ठगी गरेको आरोपमा गण्डकी गाउँपालिका–२ ताङलीचोकका ३८ बर्षिय वकिलबहादुर आलेलाई पक्राउ गरेको छ । आलेलाई गोरखा प्रहरीले गोरखा सदरमुकामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकले जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको आरोपमा आलेलाई प्रक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट पत्र आए पछी खोजतलासका क्रममा गोरखा सदरमुकाममा फेला पारी पक्राउ गरिएको हो । आलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको पनि उनले जानकारी दिए ।
पक्राउ परेका आलेले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको आरोप लागेको छ ।
पक्राउ परेका आलेलाई थप अनुसन्धान तथा कारवाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंलाई बुझाएको छ ।


