गोरखा । मनास्लु हिमालको काँखमा अवस्थित उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आज ६८ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखा र धार्चे मनास्लु पर्यटन विकास समितिको सहआयोजनामा मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटकलाई सम्मानलगायतका बिभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटकलाई खाँदा र मालाले सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । ‘‘आजै मनास्लु क्षेत्र घुम्न पुगेका ३५ जना विदेशी पर्यटकलाई मनास्लु हिमाल आरोहण दिवसका वारेमा जानकारी गराउँदै स्वागत र सम्मान गरिएको हो, उहाँले भन्नुभयो, ‘‘सम्मानित हुन पाउदा पर्यटकहरु समेत निक्कै खुशी भएका छन् ।’’
गाउँपालिकाको आयोजनामा पहिलोपटक यसबर्ष मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो । ‘‘विहान ब्यानर सहित स्थानीय कला संस्कृति झल्कने ¥याली निकालेर मनास्लु हिमाल आरोहण दिवसको प्रचार–प्रसारसंगै मनास्लु हिमाललाई प्रकृति पूजा समेत गरिएको छ, उहाँले भन्नुभयो, ‘‘यहाँका स्थानीयले प्रकृति पूजालाई निक्कै महत्वका साथ लिने गर्दछन ।’’
सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ ईमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेको दिनको अवसरमा पारेर दिवस मनाइएको हो । सोही समयदेखि अन्तराष्ट्रिय साहासिक पर्यटनको क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ ।
पर्यटन प्रवद्र्धन र पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा मनास्लु हिमाल आरोहण दिवसले महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । ‘‘यसबाट सकारात्मक सन्देश प्रवाह गरेर मनास्लु क्षेत्रमा बढीभन्दा बढी पर्यटक यस क्षेत्रमा पदमार्ग र हिमाल आरोहणका लागि भित्र्याउनुपर्छ,’’ उहाँले भन्नुभयो ।
विश्वको आठौँ अग्लो हिमश्रृखलाको रुपमा रहेको मनास्लु हिमाललाई ‘किलर माउन्टेण्ड’ भनेर समेत चिनिन्छ ।
रासस


