गोरखा । गोरखामा पछिल्लो ४ बर्षमा ठुलो संख्यामा सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार ४ बर्षको अवधिमा ३७ हजार ६१० वटा ठुला–साना सवारी कारवाहीमा भएको हो ।
ट्राफिक नियमको उल्लघंन गरेका उक्त सवारी साधनबाट २ करोड ६९ लाख ७ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी गोरखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक शिवप्रसाद पाठकले बताए । ‘आर्थिक बर्ष २०७७–०७८ देखी ०८०–०८१ को चैत्र मसान्तसम्म ३७ हजार ६१० वटा ठुलासाना सवारी कारवाहीमा परेको छ ।’ उनले भने ‘उक्त सवारी साधनहरुबाट २ करोड ६९ लाख ७ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।’
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७७–०७८ मा ८ हजार ५०० सवारी कारवाहीमा परेको र उक्त अवधीमा ६० लाख २९ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको थियो ।
त्यस्तैगरी, आर्थिक बर्ष ०७८–०७९ मा ११ हजार २०० सवारीबाट ७२ लाख ९८ हजार, ०७९–०८० मा १० हजार ३०० सवारीबाट ७६ लाख ३० हजार र यो आर्थिक बर्षको चैत्र मसान्तसम्म ७ हजार ६१० वटा सवारीबाट ५९ लाख ५० हजार जरिवाना स्वरुपको राजश्व संकलन भएको छ ।
कार्यालय प्रमुख पाठकका अनुसार ४ बर्षको यो अवधीमा सबैभन्दा धेरै भने दुईपाग्रे मोटरसाईलक कारवाहीमा परेका छन् । सवारी जाँचका क्रममा लाइसेन्स नभएका, मादक पदार्थ सेवन गरी सवारी चलाएका तथा सवारीको दुरुस्त कागजात नभएका १४ हजार ८९० वटा मोटर साईलक कारवाहीमा परेको छ ।
सोही अवधीमा ७ हजार २६२ कार–जिप, ६ हजार ३३८ वटा ट्रक–ट्रिपर, ४ हजार २९१ वटा ट्याक्टर र ३ हजार ८१७ बस तथा १२ अन्य सवारी कारवाहीमा परेका छन् ।


