काठमाडाैं । सिद्धाश्रम शक्ति केन्द्रले विगत २० वर्षदेखि रोट महोत्सवलाई प्रत्येक वर्ष अगाडि बढाउँदै आइरहेको छ । वि.संं २०६१ देखि शुभारम्भ भएको रोट महोत्सवको ऐतिहासिक निरन्तरतासँगै यसपटक २१ औँ रोट महोत्सवको रूपमा गुरु गोरखनाथको श्रीचरणकमलमा सवालाख रोट अर्पण हुन गइरहेको छ ।
रोट भन्नाले चामल, गहुँ अथवा जौको पिठोमा विभिन्न मर मसला मिसाएर बनाइने विशिष्ट रोटी हो । गुरु गोरखनाथको अति नै प्रिय वस्तु रोट हो । चामल, गहुँ, जौको पिठोमा बत्तीस प्रकारका सुकेका फल आदि मर मसलाहरू मिसाएर रोट पकाइने गरिन्छ । यसमा विभिन्न किसिमका मर मसला र वस्तुहरू जस्तै नरिवल, काजु, किसमिस, अलैँची, सुकुमेल, ल्वाङ, छोहरा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी, पानी आदि मिसाएर विशेष विधिद्वारा पकाउने गरिन्छ ।
रोट दुई किसिमले पकाउने गरिएन्छ– एक प्रकारको रोट जसको आकृति गोलाकार हुन्छ, यसलाई पातमा राखी आगोमा अर्थात् भुङ्ग्रोमा पकाइन्न्छ । आगोको भुङ्ग्रोले सेकिएर रोट पाक्दछ । यस्तो रोट विभिन्न आकारको हुने गर्दछ । सानादेखि निकै ठूला–ठूला भुङ्ग्रे रोट पनि पकाउने गरिन्छ । स्वादमा पनि अति नै मीठो हुने यस्तो प्रकारको रोट महोत्सवभरि नै गुरु गोरखनाथको महाप्रसादको रूपमा सेवन गरिँदै आइएको छ ।
अर्को प्रकारको रोटलाई ‘ताई रोट’ भनिन्छ र ताई रोटलाई घिउमा तारिन्छ । रोट पकाउनका लागि तयार पारिएको पिठोमा विभिन्न मसलाहरू राखी मुछेर पृथ्वीको आकारमा विशेष आकृति दिएर गोलाकार बनाइएपछि बीचमा नाभि (ॐ कार) राख्ने चलन छ । यस नाभिलाई ‘शिवलिङ्ग’ पनि चिनिन्छ । यस्तो नाभि भुङ्ग्रे रोटमा पनि बनाउने चलन छ, यसलाई ‘सुमेरु’ भनिन्छ ।
गोरख गुफाका नाथ पूजारीहरूले रोटलाई आकृति दिँदा विशेष मन्त्रको उच्चारण गर्नुपर्ने हुन्छ र गुरु गोरखनाथलाई रोट चढाउँदा पनि विशेष रोट पूजा गरी मन्त्रसहित रोटको बीचको भाग काटेर गुरु गोरखनाथलाई चढाइन्छ ।
भक्तजनहरूले पिठो, घिउ, मसला आदि ल्याएर पूजारीलाई दिन्छन् र पूजारीहरूले रोट पकाई गुफामा गुरु गोरखनाथको चरणमा चढाउँछन् र प्रसादको रूपमा भक्त दर्शनार्थीहरूलाई दिने गर्दछन् । भक्तहरूले आफ्नो गच्छेअनुसार एवं इच्छाअनुसार पनि रोट चढाउने गरिएको पाइन्छ । किसानहरूले आफ्नो अन्न बाली भित्र्याएपछि शुरुको अन्नको रोट पकाई गुरु गोरखनाथलाई चढाउने परम्परा पनि रहेको देखिन्छ ।
सवालाख रोट अर्पण
गुरु गोरखनाथलाई खुशी बनाउन सवालाख रोट चढाउने प्रचलन रहँदै आएको छ । सवालाख रोट चढाउने प्रचलन कहिलेदेखि चलेको थियो र यसको शुरुआत कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान र खोजी गर्नुपर्ने भने देखिन्छ ।
गुरु गोरखनाथको अति प्रिय वस्तु रोट भएको र गुरु गोरखनाथलाई छिटो खुशी पार्न रोट चढाइने भएकोले रोट अर्पण कार्यक्रम धेरै पहिलेबाट शुरु भएको अनुमान गर्न भने नसकिने होइन । गुरु गोरखनाथका शिष्यहरू राजा, महाराजा हुनुले पनि रोट चढाउने प्रथाको थालनी प्राचीनकालदेखि नै भएको अनुमान गर्ने आधार देखिन्छ । पृथ्वीनारायण शाहको राज्यकालमा सैनिकहरू रोट खाएर लडाइँ लड्न जाने गरेका प्रसङ्गहरू पाइन्छन् । गुरु गोरखनाथको आशीर्वाद प्राप्त राजा महाराजाहरूले गुरु गोरखनाथको पाउमा रोट अर्पण गरेका थिए ।
सत्ययुगमा वैशाख शिव पूर्णिमा मंगलमय मंगलबार पारेर लोकानुग्रहका लागि द्वादश बाल भास्करतुल्य बाल गोरखनाथका रूपमा शिवले अवतार लिनुभएर राष्ट्रगुरु भएर गोरखा राष्ट्रको स्थापना गर्नुभयो । कैलाश मानसरोवरदेखि दक्षिण पश्चिममा गण्डक नगमालीका आगमस्थान धनावती गण्डकी र वृद्ध गण्डकी मध्यस्थ पञ्चधार उपकैलाश पर्वतका कैलाशकुट गुफाबाट प्रकट भएर प्रकृतिरूपी गोरख पर्वतलाई झन् तीर्थधामको महिमाले पवित्र पारेर समस्त गो जातिको रक्षा गरेर विश्वमा प्रख्यात् पार्नुभयो ।
त्यसैले मंगलबारको दिन समस्त गोरखा जातिले शिवावतार गुरु गोरखनाथको विशेष पूजा गर्ने र रोट चढाउने चलन चलाउँदै आएको पाइन्छ । युद्ध, यात्रा एवं समस्त शुभयात्रा गर्न सवालाख रोटले महापूजन गरेर यात्रा गर्ने र रोट प्रसाद बोकेर शुभयात्रा, तीर्थयात्रा आदि पवित्र यात्रा गर्न भक्तजनहरूले मंगलबार रोट चढाउने प्रथा स्थापित गरेका हुन् । विश्वविख्यात् वीर गोरखा जातिले ‘जय गोरख, जय गोरखकाली’को जयकार लगाएर घर घरबाट प्रस्थान गरी यात्रा गर्ने र विश्वको कुना कुनामा सद्विचार राखेर सिंगै पृथ्वीलाई नै मातृभूमि, पितृभूमि, पुण्यभूमि, तीर्थभूमि भन्ने वैदिक प्रथा ठानेर सप्तद्वीपा पृथ्वीमा सातै समुद्र पारी पुग्दा पनि गोरखाली शैली छाडेको छैन । यसरी नै गुरु गोरखनाथलाई पृथ्वीमा उब्जेका अनेकौँ शुद्ध, पवित्र वस्तुहरूबाट बनाइको रोट चढाउने चलन अघिदेखि चल्दै आएको र हालसम्म चलिरहेको छ ।
सिद्धाश्रम शक्ति केन्द्रले २०६१ सालको वैशाखी पूर्णिमाको दिनदेखि एघार दिनसम्म सवालाख रोट अर्पण कार्यक्रम भव्यरूपमा संचालन गरी भक्तजनको तर्फबाट, शिष्य एवं साधकहरूको तर्फबाट र अन्य सामान्य व्यक्तिहरूको समेत सहभागिता गराई सवालाखको सङ्ख्यामा रोट चढाई स्वर्णिम इतिहासको शुरुआत गरेको थियो । सम्पूर्ण समाजको नेतृत्व गरेर सिद्धाश्रम शक्ति केन्द्रबाट संचालन हुने गरेको रोट महोत्सव एउटा गौरवशाली विशेष पर्वको रूपमा लिने गरिन थालिएको छ । एघार दिनसम्म दिनहुँ रोट पकाउई चढाउनुका साथै पूजन, हवन, स्तुति–वन्दना, स्तोत्र–पाठ, भजनकीर्तन, नृत्य आदिका साथ रोट महोत्सव मनाइँदै आइएको छ । कार्यक्रममा भोजन प्रसादको निःशुल्क वितरणको व्यवस्था पनि भएकोले आगन्तुक भक्तजनहरूलाई यसबाट सुविधा मिलेको देखिन्छ । जो कोही व्यक्ति पनि आएर समावेश हुन सकिने दिव्य रोट महोत्सव आफैमा अद्वितीय कार्यको ज्वलन्त उदाहरण बनेको छ ।
सवालाख गुरु गोरखनाथको गिन्ती मानिन्छ । सवाहात, सवालाख, सवाकरोड, सवादक्षिणा पनि दिने प्रक्रिया अथवा लिने प्रक्रिया गोरखनाथ सम्प्रदायमा छन् र यस सम्प्रदायमा सवाको ठूलो महत्व छ । चाहे दक्षिणा दिँदा होस् वा मन्त्र दिँदा सवा संख्याको गोरखनाथ सम्प्रदायमा अति नै महत्व रहेको छ । आसनमा पनि सवा हात, हरेक कुरामा सवा आउने भएकोले सवालाख भनिएको देखिन्छ । यसैगरी सवाकोटिको संख्या पनि रहेको पाइन्छ ।
रोट अर्पणको कार्यक्रमबाट गुरु गोरखनाथ खुशी हुनुहुन्छ । हत्या, हिंसा र कहालीलाग्दो डर, त्रासको स्थितिबाट प्रत्येक वर्षको रोट अर्पणसँगै समाजमा परिवर्तन भई शान्तिको स्थिति आई देश हरेक दृष्टिबाट रूपान्तरणको दिशामा अग्रसर हुनु सुखद कुरा हो भन्ने जनविश्वास रहेको छ । सिद्धाश्रम शक्ति केन्द्रले विशेष उद्देश्यले सम्पूर्ण समाजको कल्याणको लागि, शान्ति र आनन्दको प्राप्तिको लागि रोट महोत्सवको आयोजना गर्ने गरेको हो । यस क्रममा धेरै उपलब्धिहरू हासिल भइसकेको छ । श्री श्री महायोगी गुरु गोरखनाथको श्रीचरणकमलमा पूर्ण भक्तिभावका साथ रोट अर्पण गरौँ– सांस्कृतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा रूपान्तरण गरौँ, आध्यात्मिक भावभूमिको निर्माण गरी शान्ति, स्थिरता, अमन चैन र आनन्दको अनुभूति सारा समाजले प्राप्त गरून् ।
प्रत्येक व्यक्तिले आ–आफ्नो स्तरअनुसारको दान गर्न सक्ने, रोटमा आफ्नो तर्फबाट पनि केही मिसाउन पाउने व्यवस्थाले सबैलाई दिव्य अवसर प्राप्त भएको छ । दान दिव्य कर्ममा लिइने गरिन्छ जसको माध्यमबाट आफ्ना कमी–कमजोरी, कर्मदोष आदिलाई हटाउन सकिन्छ । दान आफैमा ठूलो पुण्य कार्य हो । सामान्य दान त सबैले गर्छन् । दिव्य कार्यमा, दिव्य गोरख गुफामा रोट चढाउनको लागि गरिने दान आफैमा उच्चकोटिको दान हो ।
यसरी प्रत्येक वर्ष वैशाखी पूर्णिमादेखि शुभारम्भ गरी ११ दिनसम्म आयोजना गरिने यस दिव्य रोट महोत्सवमा जो कोहीले पनि भाग लिन सक्छन् र स्वेच्छाले दान गरी गोरख कृपा प्राप्त गर्न सक्छन् । यही ज्येष्ठ १० गतेदेखि निरन्तर एघार दिनसम्म सिद्धाश्रम शक्ति केन्द्रले एकइसौँँ सवालाख रोट कार्यक्रम संचालन गर्दैछ । यस कार्यक्रममा सपरिवार गरिमामयरूपमा सहभागी भई अवलोकनका साथै ‘रोट महाप्रसाद’ ग्रहण गर्न हार्दिक आमन्त्रण गर्दछौँ । निःशुल्करूपमा सहभागी हुन सकिने यस कार्यक्रममा आएर गोरख कृपा, आशीर्वाद प्राप्त गरौँ ।
जय गुरुदेव


