गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह दिने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नेपाल सरकारले दिने गरेको सावैजनिक बिदाका दिनमा पनि सेवा दिने जानकारी गराएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले हस्ताक्षर गरी जारी गरेको सूचनामा ‘नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाण्डौंको मिति २०८०–१०–२१ मा खण्ड ७३, संख्या ५४ नेपाल राजपत्रको भाग ५ मा प्रशाशित सूचनामा सार्वजकि सेवा प्रवाह सम्वन्धी विशेष ब्यवस्था भए बमोजिम मिति २०८१ बेशाख १ देखि ऐ.चैत्र मसान्तसम्म तपसिलका सार्वजनिक बिदा (पर्व तथा दिवस)का दिनहरुमा समेत यस कार्यालयबाट देहायका सेवा प्रवाह हुने ब्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ भनिएको छ ।
नेपाल सरकारले यो बर्ष बैशाख ५ गते रामनवमी, जेष्ठ १० गते चण्डी पूर्णिमा (बैशाख पूर्णिमा) बुद्व जयन्ती, उभौली पर्व, १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रजिअ दाहालका अनुसार उक्त दिनमा पनि कार्यालय खुल्ला राखेर सेवा प्रवाह हुने बताए ।
सेवा ग्राहीले सार्वजनिक बिदाका दिनमा भने ३ प्रकारको मात्र सेवा पाउने छन् । जसमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्वन्धी सेवाहरु हुने पनि प्रजिअ दाहालले जानकारी दिए ।
कार्यालयले जारी गरेको सूचना अनुसार भाद्र ३ गते पर्ने रक्षाबन्धन, १० गते पर्ने श्रीकृण्ण जन्माष्टमी, असोज १७ गते पर्ने घटस्थापना, मंसिर ३० गतेको धान्य पूर्णिमा, उधौली पर्व तथा योमरी पुन्ही, पौष १० गते परेको क्रिसमस डे, १५ गते परेको तमु ल्होसार, माघ १ गतेको माघी पर्व तथा मकर संक्रान्ती, १६ गतेको सहिद दिवस, १७ गतेको सोनाम ल्होसारको सार्वजनिक बिदाका दिनमा पनि उक्त सेवाहरु सेवा ग्राहीले पाउने छन् ।
त्यस्तैगरी, फागुन ७ गतेको राष्ट्रिय प्रजातन्त्र दिवस, १४ गते परेको महा शिवरात्री, १६ गतेको ग्याल्पो ल्होसार तथा ईस्लाम धर्मालम्बीहरुको इद उल फित्र र इद उल अजहाको सार्वजनिक बिदाका दिनमा पनि कार्यालयले सेवा दिने सूचनामा भनिएको छ ।




