गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा रहेकाे मनास्लु हिमालकाे आरोहण दिवस मनाइने भएको छ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ ईमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु सेर्पाले पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८ औं मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको हाे ।
सदरमुकाममा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिदै चुमनुब्री गाउँपालिका अघ्यक्ष निमा लामाले उक्त दिन विविध कार्यक्रम गरेर दिवश मनाउने तयारी भइरहेकाे बताए ।
धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष लामाले यसअघि काठमाण्डौँमा मनास्लु हिमाल आरोहण दिवस मनाउने गरिएपनि गाउँपालिका भित्रै पहिलोपटक दिवस मनाउन लागेको बताए । दिवसको अवसरमा मनास्लु पदमार्ग हुँदै मनास्लु क्षेत्रमा पुग्ने पर्यटकहरुलाई सम्मान, प्रकृति पूजा लगायत अन्य स्थानीय सँस्कृतिको उजागर गर्ने गरी साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ ।
‘‘सोही अवसरमा पर्वतारोहण संघको झण्डा र व्यानर सहित रर्याली निकाल्ने कार्यक्रम पनि रहेको छ, उनले भने, ‘‘त्यसवाहेक अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।’’ यस बर्षदेखि नियमित रुपमा स्थानीय सरकारले नै स्वामित्व लिएर दिवस मनाउन लागिएको उनको भनाई छ ।
यसले गोरखाको पर्यटन र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु संरक्षण क्षेत्र ट्रेकिङ टुरिजममा पहिलो गन्तव्य बन्नसक्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले जिल्लामै मनास्लु हिमाल आरोहण दिवस मनाउने श्रृखलाको सुरुवात हुनु गोरखाका लागि महत्वपूर्ण भएकाे बताए । ‘‘मनास्लु हिमाल आरोहण गर्नका लागि स्वेदशी तथा विदेशी पर्यटकको आर्कषण पनि बढ्दै गएको छ, उनले भने, ‘‘यसलाई थप प्रर्वद्धन गर्दै मनास्लु हिमालको प्रचारप्रसारका लागि दिवस मनाउन लागिएको हो ।’’
मनाास्लु हिमाल आरोहणका लागि जापान सहित नर्वे, संयुक्त राज्य अमेरिका, डेनर्माक, क्यानडा, चेक रिपब्लिक लगायतका थुप्रै विदेशी पर्वतारोहीको रोजाईमा पर्ने गरेको उनको भनाई छ ।
गोरखाको नुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमश्रृखला हो । साहसिक जापानी पर्यटकहरुले उक्त हिमाल आराेहण गरे लगत्तै विश्वब्यापी रुपमा मनास्लु हिमालको चर्चा चुलिएको थियाे । याे हिमाललाई विश्व माझ किलर माउन्टेकाे नामले समेत पिरचित छ ।



