गोरखा । गोरखा सदरमुकाममा जंगलबाट सल्किएको आगोले २ घर र ४ गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा जंगलबाट सल्किएको आगोले बुधवार बस्तीमा पुग्दा स्थानीयबासी पार्वती राना र रुपा रानाको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आगलागीबाट पार्वतीको २ कोठे र रुपाको २ कोठे घर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए । सोही ठाउँका अर्का स्थानीय पूर्णबहादुर मगरको गोठ आगलागीबाट पूर्ण क्षति भएको उनले जानकारी दिए ।
जंगलमा लागेको आगो बस्तीमा पुगेर घर तथा गोठमा क्षति पुगेको हो ।
त्यस्तै पालुङटार नगरपालिका–९ को चालिसेडाँडामा आगलागी हुदा ३ वटा गोठमा क्षति पुगेको छ ।
स्थानीयबासी रुद्र गुरुङ, इन्दिरा गुरुङ र फागु गुरुङको गोठमा आगलागीबाट क्षति भएको सूचना अधिकारी श्रेष्ठले बताए । आगलागीबाट फागुको गोठमा रहेको गाई समेत जलेर मरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
रेडक्रसद्वारा राहत सामाग्री बितरण
नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएको छ । आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपतकालिन सहयोग उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका कार्यालय प्रमुख सुवास घिमिरले जानकारी दिए ।



