गोरखा । डिभिजन बन कार्यालय गोरखाले बिभिन्न प्रजातीका ९० हजार बिरुवा निःशुल्क वितरण गर्न सुरु गरेको छ । बृक्षारोपणका उक्त परिमाणको विभिन्न जातको बिरुवा निःशुल्क रुपमा वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिए ।
कार्यालय तथा सव डिभिजन मार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवाहरु जिल्ला भित्रका बाँझो जमिन रोपिने गरी बिरतण गर्न सुरु गरिएको हो । वितरण गरिने बिरुवाहरुमा काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरी लगायतका बिरुवा भएको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।
बिरुवा वितरणकालागि गोरखा नगरपालिकाको तीनकिलो, गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनटर र पालुङटार सबडिभिजन कार्यालय अन्तरर्गतका नर्सरीहरुमा बिरुवा उत्पादन गरिएको छ ।
कवुलियती बन, सामुदायिक बनमा रहेका बाँझो जमिनमा विरुवा लगेर बृक्षारोपण गर्न उपभोक्ता समिति र समुदायहरुलाई प्रोत्साहन गर्नका लागि निःशुल्क बिरुवा उत्पादन गरी वितरण गर्दै आएको प्रमुख श्रेष्ठले बताए ।
कायालयले ३ वटा नर्सरी मध्ये पाएक पर्ने ठाउँमा पुगेर प्रक्रिया पुरा गरी बिरुवा लैजाने व्यवस्था मिलाएको पनि जानकारी दिएको छ ।
कार्यालयले घाँसका लागि राइखन्यु, निमारो, टाँकी, बर्रो, काभ्रो र पाखुरी लगायतका डालेघाँसका बिरुवा उत्पादन गरेको छ । त्यस्तै सौन्दर्यकालागि कल्की, कपुर, म्यान्गुइष्टिक, बिरेन्द्रफूल, कपुर, धुपी, परिजात, श्रीखण्ड, अष्ट्रेलियन बबूल, गोलमोहर लगायतका विरुवा पनि नर्सरीमा उत्पादन गरी वितरण गरिरहेको छ ।
त्यसवाहेक फलफुलहरुमा अम्बा, इमिली, निबुवा, लप्सी, अमला, कटहर जडिबुढी जन्य तेजपात, टीमुर, सर्पगन्दा, नीम, कुरिलो, कडिपत्ता लगायतकाको बिरुवा पनि नर्सरीबाट उत्पादन गरी वितरण भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।
डिभिजन बन कार्यालय गोरखाले हरेक बर्षजसो नर्सरी मार्फत बिरुवा उत्पादन गरी समुदायलाई वितरण गर्दै आएको छ ।


