गोरखा । गोरखा ठाँटीपोखरीकी शुष्मा तामाङ ठगी आरोपमा राजधानीबाट पक्राउ परेकी छिन । तामाङले वैदेशिक रोजगारीमा पठाउने भन्दै ५ लाख भन्दा बढी रकम उठाएको आरोप प्रहरीको छ ।
गोरखाको पालुङटार नगरपालिका–५ ठाँटीपोखरी निवासी २९ बर्षिया तामाङ हाल काठमाडौंको तार्केश्वर नगरपालिका फुटुङमा बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन जानकारी दिएको हो ।
पक्राउ परेकी तामाङले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टामा रहेको प्रतिष्ठित होटलमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको आरोप लागेको छ ।
पिडितले वैदेशिक रोजगार विभागमा उजुरी गरे लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले तामाङलाई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङबाट पक्राउ गरेको थियो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


