गोरखा । गोरखा नगरपालिकाले पूर्वाग्राही ढंगले शिक्षक सरुवा गरेको भन्दै सर्वोच्चले उत्प्रेषणको परमादेश जारी गर्दै तत्काललाई सरुवा रोक्का गरेको छ ।
गोरखा नगरपालिका–१० को छेवेटारमा रहेको तारामाविमा अध्यापन गराउदै आएका बिनोद पाण्डेलाई तत्कालका लागि साविककै बिद्यालयमा अध्यापन गराउन दिन सर्वोच्चले आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको ईजलासले असार २१ गते उत्प्रेषण परमादेश जारी गर्दै गोरखा नगरपालिकाले २०८० साल जेष्ठ २८ गतेको माइन्यूट हेर्दा विभिन्न आरोप लगाएको देखिएकोमा सो आरोपका सम्वन्धमा सफाइ दिने मौका नै प्रदान नगरी अन्तिममा गोरखा नगरपालिका–१ को बन्दिचौरमा रहेको जनज्योति माविमा कामकाज गर्न खटाएको देखिएको भन्दै निजलाई सो कामकाज गर्न खटाउदा के, कुन कानूनबमोजिम गरिएको हो ? भनी खुलेको अवस्था नहुनुको साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा नगरपालिकालाई शिक्षकको काज सरुवा गर्ने अधिकार पनि नदेखिएका सर्वोच्च अदालतद्वारा जारी परमादेशमा भनिएको छ ।
सोही परमादेशमा सुविधा र सुन्तलनका दृष्टिकोबाट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अर्को बिद्यालयमा हाजिर हुन नपाउनु सो सम्वन्धी निर्णय एवं पत्राचार कार्यान्वयन नगर्नु भनिएको छ । साथै निवदेक पाण्डेको हकमा कार्यरत रहेकै विद्यालयमा हाजिर गराई कामकाज गर्न लगाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम ओदश जारी गरिएको छ भनिएको छ ।
बिद्यालयमा प्रधानाध्यापक बावुराम विक संगको असमझदारी पछि गोरखा नगरपालिकाले शिक्षक पाण्डेलाई बन्दिचौरको जनज्योति माविमा सरुवा गरेको थियो । पाण्डेले आफुलाई सफाईको मौका समेत नदिएर सरुवा गरेको भन्दै सर्वोच्च अदालतमा असार ८ गते रिट दायर गरेका थिए ।
विपक्षी बनाइएको गोरखा नगरपालिकालाई परमादेश जारी भएको १५ दिन भित्र लिखित जवाफ दिन ओदश दिदै यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार र कारण सहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र विपक्षीहरुले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना पठाई म्याद भित्र लिखित जवाफ परे वा अवधि नाधेपछि नियमानुसार पेस गर्नु भनेको छ ।
उक्त आदेश जारी भए लगत्तै पाण्डेले आफुले पुरानै बिद्यालयमा अध्यापन गराउन थालेको पनि जानकारी गराए ।




