गोरखा । बुढीगण्डकी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद(बिक्री सम्झौता भएको छ ।
गोरखाको धार्चे गाउँपालिकामा निर्माण गर्न लागिएको आयोजनाको बिहीबार खरिद सम्झौता भएको हो ।
सम्झौताका लागि नेतृत्व एनआरएनएका सचिव खगेन्द्र न्यौपाने, अस्ट्रेलियामा व्यवसाय गर्ने जोन घले, युकेमा व्यवसाय गर्ने इन्द्र ढकाललगायतले गरेको सञ्चालक समितिका मध्येका एक कृष्ण घिमिरेले जानकारी दिए ।
यही समूहले यसअघि विकास हाइड्रोपावर कम्पनी लिमिटेडको नामले निर्माण गरेको ४.५ मेगावाटको आयोजना सम्पन्न गरिसकेको छ ।
आयोजनाको वित्तीय व्यवस्थापन करिब ३ वर्षमा सक्ने लक्ष्य राखिएको अर्का सञ्चालक सदस्य सरोज धितालले जानकारी दिए ।
नेपाल बिद्युत प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेबीच खरिद सम्झौता भएको हो ।


