गोरखा । असारको दोस्रो साता वितिसक्दा पनि गोरखामा अहिलेसम्म १२ प्रतिसत क्षेत्रफल जमिनमा मात्र रोपाइँ भएको छ । ढिलोगरी मनसुनी बर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाई भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो ।
‘अहिलेसम्मको अबस्था हेर्दा जिल्ला भित्र करिब १ हजार २ सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई भएकोे छ, उहाँले भन्नुभयो, ‘मनसुनी बर्षाको आवश्यक नपर्ने खेतमा धमाधम रोपाइँ भएपनि आकाशे पानीको भरपर्नु पर्ने खेतमा रोपाइँ बल्ल सुरु हुन थालेको हो ।’
अघिल्लो बर्ष यतिबेला जिल्ला भित्र २२ प्रतिसत क्षेत्रफल रोपाइँ सम्पन्न भएको थियो । ‘पोहोर यतिबेला झण्डै बाईस प्रतिसत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको थियो, प्रमुख अधिकारीले भन्नुभयो,‘अघिल्लो बर्षको तुलनामा जिल्ला यो बर्ष रोपाइँमा ढिलाई भएको छ ।’
मुख्य गरी दरौदी करिडोर क्षेत्रका फाँट तथा खेतहरुमा भने आकाशेपानी नपर्दै पनि रोपाइँ गर्नका लागि पानीको अभाव नहुने भएकाले ति क्षेत्रमा रोपाइँ भइसकेको उहाँको भनाई छ । ‘आकाशे पानीको भर पर्नु पर्ने क्षेत्रमा मनसुनी बर्षा नभएसम्म रोपाइँ गर्न सक्ने अबस्था हुदैन, प्रमुख अधिकारीले भन्नुभयो,‘जहाँ सिञ्चाईको सुविधा तथा पर्याप्त पानीको सुविधा छ ति क्षेत्रमा मात्र रोपाइँ सकिएको हो ।’
जिल्लाको दक्षिणी भूभागमा धेरैजसो बर्खे धानखेती हुने गरेको प्रमुख अधिकारीले बताउनुभयो । यहाँका खेतीयोग्य जमिन मध्ये जिल्लाको ३५ प्रतिशत भूभागमा मात्र धानखेती हुने उहाँको भनाई छ । ‘धानखेती हुने जमिन मध्ये पनि करिब ३८ प्रतिशत खेतमा मात्र सिञ्चाईको सुबिधा पुगेको छ, उहाँले भन्नुभयो, बाँकी जमिनमा रोपाइँ गर्न भने आकाशे पानीको भरपर्नु पर्ने बाध्यता गोरखाका किसानहरुको छ ।’
केही दिनदेखि बर्षा सुरु भएकाले सवै तिर रोपाइँ गर्न सुरु भइरहेको उहाँले बताउनुभयो । गोरखा जिल्लामा करिब १० हजार ५ सय हेक्टर भन्दाबढी क्षेत्रफलमा धानखेती हुने गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कार्यालयले जिल्ला भित्रका सवै पालिकाहरुसंग नियमित रुपमा धान रोपाइँको डाटा लिएर मन्त्रालयमा रिपोटिङ गर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो ।
गोरखामा किसानहरुले सावित्री, रामधान, सुख्खा १, सुख्खा २, सुख्खा ३, महाराजा, च्याम्पियन, युस ३१२ जातका धान रोप्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा किसानहरुले अन्य केही उन्नत जातको धानको बिऊहरु पनि लगाउन सुरु गरेका छन्, प्रमुख अधिकारीले भन्नुभयो, ‘खेती प्रणालीमा यान्त्रिकीकरणको प्रयोग पनि पछिल्लो समय बढ्दै गएको छ ।’
रासस


