गोरखा । गुठी संस्थानले गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिषरमा रहेको धर्मशालाको ठेक्का निकाले पछि आक्रोसित स्थानीयबासीहरुले धर्मशालामा तालबन्दी गरिदिएको छ ।
संस्थानले धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने उद्वेश्य सहित ठेक्का निकाले पछि उनीहरुले तालाबन्दी गरिदिएको हो ।
स्थानीबासीहरुको आग्रहलाई बेवास्ता गरेको भन्दै मन्दिर परिषर संगै रहेको धर्मशालामा बुधबार स्थानिय सबै मिलेर तालाबन्दी गरिएको मनोज जोशीले बताए । ‘योगी, तपस्वी, गरिव, असहाय, तिर्थालु भक्तजनहरुका लागि बस्ने गरी निर्माण भएको धर्मशालालाई गुठी संस्थानले गएको ४० बर्षदेखि व्यापारिक प्रयोजनका लागि भाँडामा लगाउदै आएको, भन्र्द उनले भने, ‘मनकामनाबासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन टेण्डर आवहन गरेपछि टेण्डर रद्ध गर्न आग्रह गरेको भएपनि संस्थानबाट कुनै सुनवाई नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौ ।’
धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा दिने गरी सञ्चालनमा ल्याउनु पर्ने स्थानीयबासीको माग छ । स्थानीयबासी सहित श्री मनकामना माई गुठीका गुठियारले असार २ गते संस्थानलाई धर्मशाला भाडामा नलगाउन र टेण्डर रद्ध आग्रह गदैै ज्ञापन पत्र समेत बुझाएको थियो ।

२०७२ बैशाख १२ गते आएको गोरखा भुकम्पले क्षति पुगेको धर्मशाला मर्मत गर्नुपर्ने अबस्था भएपनि संस्थानले त्यसतर्फ भने चासो नदिएको स्थानीयबासीहरुको गुनासो छ । भूकम्प गए नेपाल सरकारले खटाएको प्राविधिकको टोलीलले धर्मशालामा रातो स्टिकर टाँसेको छ ।
मनकामना क्षेत्र बिकास समितिले पनि मन्दिरको गुरु योजनामा नै धर्मशालामा भक्तजनहरुलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको थियो । गुरु योजना अनुसार धर्मशाला पछाडी रहेको स्थानलाई समेत समेटेर बनभोज स्थलको रुपमा बिकास गर्ने लक्ष्य मनकामना क्षेत्र बिकास समितिले राखेको छ ।
स्थानीवासीहरुकोे अनुरोध र आग्रहलाई वेवास्ता गर्दै पुनः टेण्डर आब्हान भएकोले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने आंशका समेत स्थानीयले गरेका छन् । धर्मशालालाई गुठी संस्थानले व्यापारीक प्रयोजनको लागी भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको छ ।
संस्थानले व्यवसाय सञ्चालन गर्ने गरी जेष्ठ ३१ गते सार्वजनिक सूचना जारी गरेर टेण्डर आवहन गरेसंगै मनकामनाबासीले धर्मशालामा व्यवसाय सञ्चालन गर्न नहुने भन्दै बिरोध गर्दै आएका थिए ।



