गोरखा । गोरखा बजारबाट प्रहरीले बहुमुल्य क्रिष्टल बरामद गरेको छ । प्रहरीले गोरखा नगरपालिका–७ को सतिपिपल स्थित एक ब्यक्तिको घरबाट क्वार्ज नामक क्रिष्टल बरामद गरेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
बरामद क्रिष्टल ५४ किलोको भएको प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ‘क्पार्ज क्रिष्टल’ भएको पुष्टी भएता पनि अनुसन्धानका लागि विज्ञहरुलाई गोरखा बोलाउने बिषयमा छलफल भई रहेको बताए ।
पैतृक सम्पत्तीको रुपमा घरबेटीले पूजा आजा गर्दै आएको उक्त क्रिष्टल खरिदका लागि देशका विभिन्न भागबाट मानिसहरुको आगमन बढ्न थाले पछि प्रहरीले बिगत २ महिनादेखी निगरानी गर्न थालेको थियो । नयाँ नयाँ मानिस आउने जाने गर्न थाले पछि गोरखा प्रहरीले बिहीबार उक्त घरकाट क्रिष्टल नियन्त्रणमा लिएर कार्यालयमा राखेको छ ।
प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार अनुसन्धान पछि बुहुमुल्य र ऐतिहासिक होइन भन्ने पुष्टी भएमा घरधनीलाई सुम्पने तर बहुमुल्य र ऐतिहासिक तथा पुरातात्विक भएको पुष्टी भएमा कानून अनुसार नै हुने समेत बताए ।
क्रिष्टल अनुसन्धानका लागि राजधानीबाट बिज्ञ बोलाउने बिषयमा प्रमुख जिल्ला अधिकारी संग पनि कुरा भएको प्रउ श्रेष्ठले बताए ।
याे नेपालमा भेटिएकाे अहिलेसम्मकै ठुलाे क्रिष्टल हाे ।
यही बिषयलाई लिएर बिगतमा क्रिष्टलकाे कानूनी रुपमा ब्यवसाय गर्दै आएका शंकर आर्चाय संग जिज्ञासा राख्दा उनले उक्त क्रिष्टल खासै बहुमुल्य नहुने बताए । उनका अनुसार क्रिष्टलकाे माला बनाएर लगाउने चलन भने नेपालमा अहिले पनि भएकाे जानकारी दिए ।


