गोरखा । तनहुँको याम्पामा आज ट्रकले ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाईते भएका छन् ।
बन्दिपुर गाउँपालिका–५ को याम्पा फाँटमा ना ४ ख १९७३ नम्बरको ट्रकले सडक छेउमा रहेको घरमा ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो ।
घरमा बसी रहेका उनीहरुलाई ट्रकले ठक्कर दिदा गंभिर घाईते भएका थिए । घाईते मध्ये बन्दिपुर गाउँपालिका–१ का चेतबहादुर घर्ती, सनबहादुर भुजेल र आयुष भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी समेत रहेका नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए । ‘घुम्तीमा एक्कासी ट्रकले आएर ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्’ उनले भने ।
ठक्करबाट १० वर्षीया जस्मि भुजेल, ७ वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन् ।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




















