मुग्लिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूलाई फूल र मुस्कानमा विश्वास भएको बताएका छन् ।
बुधबार चितवनको मुग्लिङमा आयोजित धन्यवाद सभामा सम्बोधन गर्दै उनले २१ सिटको यात्रा फूलबाट तय भएको बताए । ‘२१ सिटको यात्रा फूलबाट तय भयो । अब बाँकी यात्रा पनि फूलले नै तय गर्नेछ । मुस्कानले तय गर्नेछ । मलाई फूलमा विश्वास छ । मलाई बन्दुकमा विश्वास छैन । मलाई फूलमा विश्वास छ । घृणामा विश्वास छैन । मुस्कानमा नै विश्वास छ’ उनले भने ।
उनले मात्तिएर र आत्तिएर राजनीतिमा नहुने बताए । उनले आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भन्दै सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पंक्तिलाई हेर्ने बताए ।
उनले अरु दलको आलोचनामा नगर्ने बताए । सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरुप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले त्यसमा क्षमा मागेको बताए ।
ुधन्यबाद सभामा उनले सु–संस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेको भन्दै ओठमा मुस्कान र हातमा फूल भएकाहरुले गालीगलौज गर्न नसुहाउने बताए ।
सोही सभामा बारा–२ बाट पराजित रमेश खरेल र तनहुँ–१ बाट विजयी भएका डा.स्वर्णिम वाग्लेले पनि सम्बोधन गरेका थिए ।




















