लमजुङ । शरीरका भित्री भाग नाइटोबाट बाहिर निस्किएको र झिल्लीले मात्रै छोपेको अवस्थामा जन्मिएकी शिशुको सफल शल्यक्रिया भएको छ ।
आन्द्राभुँडी, कलेजोलगायत पेटभित्रका अंग शरीर बाहिर निस्किएको अवस्थामा जन्मिएकी एक शिशुको लमजुङ अस्पतालले सफल शल्यक्रिया गरेको हो ।
अस्पतालका सर्जन डा.सुलभराज भण्डारीको समूहले ३ दिन पहिले उक्त शल्यक्रिया गरेको लमजुङ अस्पतालले जनाएको छ । चिकित्सकहरुको समूहले उक्त बालिकाको शल्यक्रिया गर्न करिब डेढ घण्टा समय लगाएका थिए ।
डा.भण्डारीका अनुसार मेडिकल भाषामा यो समस्यालाई ओम्फालोसेल भनिन्छ । यो जन्मजात हुने समस्या हो । विश्वमा १० हजार मध्य १ जना बालबालिकालाई यो समस्या हुने गर्दछ ।
सिमित स्रोत साधनले लमजुङ अस्पतालमा यो शल्यक्रिया सम्भव नभएको भएता पनि बच्चाको अवस्था हेरेर आफुहरुले हिम्मतका साथ शल्यक्रिया गरेको डा.भण्डारी बताए । ‘बच्चाको अवस्था निकै नाजुक थियो’ उनले भनिन, ‘हामीले त स्रोत साधन भएको ठाउँमै गएर शल्यक्रिया भए हुन्थ्यो भन्ने चाहेका थियौं तर उहाँहरुको आर्थिक अवस्था पनि निकै कमजोर देखे पछि शल्यक्रिया गरियौ ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रमेशप्रसाद आचार्यका अनुसार नजवात शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।




















