पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज दोस्रो पटक विश्वासको मत लिँदै छन् ।
माओवादीका मन्त्रीहरुले राजिनामा दिए लगत्तै अल्पमतमा परेको अधिकारीको सरकारले २९ दिन पछी विश्वासको मत लिन लागेको हो ।
कार्यक्रम तालिका अनुसार मुख्यमन्त्री अधिकारीले सनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन ।
विश्वासको मत लिन मुख्यमन्त्री अधिकारीले केही दिन अघि प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । पत्रमा लेखिएको, “संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०–०१–०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावल, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।’
अधिकारीले विश्वासको मत नपाए ठूला दलको हैसियतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेससँग २७, नेकपा (एमाले)सँग २२, नेकपा (माओवादी केन्द्र)सँग ८, राप्रपा २ र एकीकृत समाजवादीसँग १ सांसद छन् ।
अधिकारीले विश्वासको मत पाउन नसकेको खण्डमा ठूला दलका हैसियतले नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन् । पाण्डेले हालै सम्पन्न संघिय निर्वाचन अन्तरर्गत गोरखाबाट निर्वाचित भएका हुन् ।




















