एजेन्सी । अमेरिकामा गोप्य रूपमा चिनियाँ प्रहरी कार्यालय खोलेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् ।
न्युयोर्क राज्यको म्यानह्याटन क्षेत्रको चाइना टाउनबाट दुई चिनियाँमूलका नागरिक गिरफ्तारमा परेका हुन् । पक्राउ पर्नेमा ६१ वर्षका लु जियानवाङ र ५९ वर्षका चेन जिनपिङ हुन् ।
दुवैलाई चिनियाँ एजेन्टका रूपमा षड्यन्त्र गरेको र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ । अमेरिकी प्रहरीका अनुसार उनीहरूले चीनको निर्देशनमा गोप्य चिनियाँ प्रहरी कार्यालय सञ्चालन गरिरहेका थिए । सन् २०२२ बाट चिनियाँ गोप्य प्रहरी कार्यालय सञ्चालनमा आएको अमेरिकी दाबी छ ।
तर, चीनले बारम्बार अमेरिकामा गोप्य चिनियाँ प्रहरी कार्यालय सञ्चालन भएको विषयमा आफ्नो हात नभएको बताउँदै आएको छ । विदेशमा रहेका चिनियाँ नागरिकलाई सेवा दिने सेवा केन्द्र भने आफूहरूले सञ्चालन गरेको चीन बताउँछ ।
न्यूयोर्कको पूर्वी जिल्लाका लागि अमेरिकी अधिवक्ता ब्रेओन पिस भन्छन्, ‘ती पुरुषहरू बेइजिङको आदेशमा न्यूयोर्क शहर र संयुक्त राज्य अमेरिकाका अन्य ठाउँमा चिनियाँ समुदायका सदस्यहरूलाई लक्षित गरी अन्तर्राष्ट्रिय दमन गर्नमा संलग्न भएका छन् ।’
हाल गिरफ्तार भएका व्यक्तिहरूलाई चिनियाँ एजेन्टका रूपमा षड्यन्त्र गरेको र न्यायमा अवरोध गरेको आरोपसँगै चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका अधिकारीसँगको पत्राचार गरेको आरोप पनि लागेको छ । अमेरिकी प्रहरीका अनुसार ती व्यक्ति र चिनियाँ सरकारी अधिकारीबीच सम्पर्क भएको विषय आफूलाई थाहा भएपछि नै उनीहरूले चिनियाँ अधिकारीसँग भएको पत्राचार, सञ्चार र मेल सबै प्रमाण नष्ट गरेको आरोप लगाइएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार चीनको गोप्य प्रहरी चौकीले अमेरिकी प्रशासनको अनुमतिबिनै चिनियाँ नागरिकहरूलाई आधारभूत चिनियाँ सरकारी सेवा उपलब्ध गराएको छ, जुन आफैँमा अमेरिकी कानुनको उल्लंघन हुनेछ । प्रहरी कार्यालयले सुक्ष्म रूपमा अमेरिकी नागरिकको जासुसी गर्ने गरेको पनि अमेरिकी आरोप छ ।


