काठमाडौं । मन्त्रिपरिषद्को चैत २४ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । उनीहरुलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रधान कार्यालय नक्सालमा आइतबार एक कार्यक्रम बिच दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई महानिरिक्षक कुवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हो ।
समारोहमा महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति गरी राज्यले अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसर दिएकोले गम्भीर जिम्मेवारी बोध गर्ने अवसरको रूपमा लिएर कार्य क्षेत्रमा खटिन आग्रह गरे ।
उनले प्रहरी संगठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक, निष्ठा र कर्तव्य वोध गरी कर्तव्य निर्वाह गर्न जरूरी रहेको भन्दै महानिरीक्षक कुँवरले सरकारको लक्ष्य प्राप्तिका लागि उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।
उनले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने भन्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीति अनुसार सम्भावित अराजकता लगायतका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन निर्देशनसमेत दिए ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यवोधको थप उर्जा प्राप्त भएको भन्दै संगठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिवद्ध रहने बताए ।
उनले संगठनप्रति सदैव इमान्दार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी प्रचलित कानुनबमोजिम विधिको शासन कायम गर्न गराउन सदैव कृत संकल्पित रहने प्रतिवद्धता ब्यत्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।


