काठमाडौं । एक समयका चीर प्रतिद्वन्द्वी लियोनल मेसी र सर्जियोज रामोसले गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति फ्रेन्च लिग वानमा निसमाथि २–० को विजय हासिल गरेको छ ।
स्पेसिन ला लिगामा मेसी र रामोस चीर प्रतिद्वन्द्वी थिए । मेसी बार्सिलोना र रामोस रियाल मड्रिडमा हुँदा दुईबीच कडा प्रतिस्पर्धा हुन्थ्यो । तर, फ्रेन्च लिग वानमा भने दुवै सहयात्री बनेका छन् ।
गएराति मेसीले २६औँ मिनेटमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ७६औँ मिनेटमा रामोसले अर्को गोल थपेपछि पीएसजीको जित पक्का भएको हो । रामोसको गोलमा मेसीले नै अवसर सिर्जना गरिदिएका थिए ।
जितसँगै पीएसजीले ३० खेलबाट ६९ अंक जोडेको छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले माथि हो । लेन्स ६३ अंकका साथ दोस्रो स्थानमा छ । मार्से ६० अंकका साथ तेस्रो स्थानमा छ ।
यसअघि पीएसजी लिगका लगातार दुई खेलमा पराजित भएको थियो । जारी सिजन पीएसजीको उपाधि जित्ने सम्भावना लिग मात्र बनेको छ । जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि पीएसजी च्याम्पियन्स लिगको अन्तिम–१६ बाटै बाहिरिएको छ । फ्रेन्च कपमा पनि पीएसजी अन्तिम–१६ मा मार्सेसँग पराजित भएको थियो ।




















